कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यस वर्ष सरकारले केही नयाँ तथा जनमुखी योजनालाई प्राथमिकतामा राखेको जनाएको छ। विशेषगरी लागूऔषध प्रयोगकर्ताका लागि सरकारी स्तरमै सुधार तथा पुनस्र्थापना केन्द्र स्थापना गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
हालसम्म निजी क्षेत्रबाट मात्रै सञ्चालन हुँदै आएका यस्ता केन्द्र अब प्रदेश सरकारकै पहलमा दुई स्थानमा सञ्चालन गर्ने तयारी गरिएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुली का अनुसार, कोभिड–१९ महामारीका बेला निर्माण गरिएका क्वारेन्टाइन स्थललाई सुधार केन्द्रका रूपमा प्रयोग गरिनेछ।
त्यस्तै, सरकारले पहाडी क्षेत्रबाट बढ्दो बसाइँसराइ रोक्ने विषयलाई पनि मुख्य प्राथमिकतामा राखेको छ। पहाडबाट हुने पलायन नियन्त्रण गर्दै स्थानीयलाई आफ्नै ठाउँमा बस्न प्रोत्साहन गर्न पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनासम्बन्धी विशेष कार्यक्रम ल्याइने तयारी गरिएको छ।
पहाडी क्षेत्रको आर्थिक गतिविधि बढाउन औद्योगिकीकरणलाई समेत प्राथमिकतामा राखिएको सरकारको भनाइ छ। सेवा–सुविधा र अवसरको पहुँच पहाडमै सुनिश्चित गरेर बसाइँसराइ न्यूनीकरण गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम तयार पारिएको मन्त्री पराजुलीले बताएका छन्।