.

देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार कोशी प्रदेशका विभिन्न जिल्ला र मधेश प्रदेशको सिरहासम्म आन्दोलन चर्किएको छ ।

विराटनगरमा बजार बन्द गराउँदै प्रदर्शन गरिएको छ । सुनसरीमा सडकमा टायर बालेर प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । सिरहामा पनि राजमार्ग बन्द गरी विरोध प्रदर्शन गरिएको छ ।विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेका थिए । जसका कारण बजारको जनजीवन आंशिक रूपमा प्रभावित भएको थियो । प्रदर्शन पुनः हनुमान मन्दिरमै पुगेर सम्पन्न भएको थियो ।

आन्दोलनरत पक्षले विराटनगरको बुधहाट चोकमा दिउँसो ४ बजे श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छ । प्रदर्शन शान्तिपूर्ण भए पनि कुनै अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बजार क्षेत्र, प्रदर्शनस्थल तथा संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुनसरीमा आज मंगलबार पनि आन्दोलन जारी रहेको छ । प्रदर्शनकारीहरूले पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरोधका कारण यातायात सेवा प्रभावित भएको छ । स्थिति थप तनावपूर्ण हुन नदिन स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । कफ्र्यू लागू भएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । तर, पनि प्रदर्शन रोकिएको छैन ।

कप्तानगन्ज घटनाको प्रभाव सिरहासम्म पुगेको छ । सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । सिरहा प्रहरीका अनुसार आन्दोलनकारीहरूले करिब आधा घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । प्रदर्शनकारीसँगको छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यसैबिच

सुनसरीको देवानगन्ज गाउँपालिका–३ मा भएको गोलीकाण्डको विरोधमा मंगलबार सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा ठूलो तनाव उत्पन्न भएको छ ।

प्रदर्शन र आन्दोलनका नाममा अराजक समूहले कोशी कटान क्षेत्रका व्यावसायिक पसलहरूमा आगजनी र तोडफोड गरेका छन् । एक्कासि आएको समूहले कोशी कटान बजारमा रहेका स्थानीय व्यवसायीहरू सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका पसलहरूलाई लक्षित गरी आगजनी एवं तोडफोड गरेको स्थानीय पत्रकार धर्मेन्द्र मेहताले बताए ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आगजनी र तोडफोडबाट व्यवसायीहरूको भौतिक सामग्री तथा पसलभित्र रहेका सामानहरू नष्ट भई ठूलो आर्थिक क्षति पुगेको सुरक्षा स्रोतले जनाएको छ ।

घटनालगत्तै सो क्षेत्रमा सुरक्षा उपस्थिति बढाइएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

दुई समुदायबीचको विवाद झडपमा परिणत भएपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ जना घाइते भएका थिए । १३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

घटनाको विरोधमा सुनसरी, मोरङसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ । आन्दोलनका नाममा विभिन्न स्थानमा आक्रमण, आगजनी र तोडफोडका घटनासमेत भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया