मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
मृतक सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना हुन्। उनी आफ्ना श्रीमान् पर्साको वीरगञ्ज–१६ निवासी ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार शव फेला परेपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण खुलिनसकेको र पोस्टमार्टमसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको उनले बताए।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नआएपछि खोजी सुरु गरिएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोनसमेत उठिरहेको थिएन।
लुइँटेलका अनुसार दिनभर सम्पर्क हुन नसकेपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ताले उनको वाट्सएपमा सन्देश पठाएका थिए। सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोली कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।
स्थानीयवासीका अनुसार रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन रहेका छन्।
प्रहरीले सम्पर्कविहीन रहेका गुप्ताको खोजी भइरहेको जनाएको छ। साथै, घटनाको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम प्रतिवेदन, घटनास्थलबाट संकलित प्रमाण र अन्य तथ्यको आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।