मोरङमा खेतको बीचमा लुकाएर राखिएको ९ क्वीन्टल (९ सय किलो)भन्दा बढी गाँजा बुधबार राति बरामद भएको छ । खेतको बीचमा डुम्रीको रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाजा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले राति ९ बजेतिर बरामद गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालयबाट करिब २ सय मिटर पश्चिममा रहेको सुरेशमान श्रेष्ठको खेतबाट गाजा बरामद भएको हो ।
खेतको बीचमा गाजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च अपरेशन’ चलाएको थियो । त्यस क्रममा क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा भेटिएको जानकारी डीएसपी चौधरीले दिए ।
उनका अनुसार डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ ।
बरामद भएको गाजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उक्त गाजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन ।
गाजाको कारोबार र ओसारपसारमा संलग्नको पहिचान एवं खोजी तीव्र पारिएको चौधरीले बताए ।
धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाजा सुरक्षाकर्मीको आँखा छलेर भारततिर लैजानलाई खेतमा भण्डारण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।