.

विराटनगरमा सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्टिभ स्टिकर अभियान सुरु

विराटनगरको मुख्य सडक कोशी राजमार्ग अन्तर्गत धरान जाने बाटोमा पटक–पटक सवारी दुर्घटना हुने समस्या बढ्दै गएको छ। विशेषगरी रातिको समयमा स्पष्ट नदेखिने सडक डिभाइडरका कारण दुर्घटना बढेपछि यसलाई लक्षित गर्दै विराटनगरमा जनचेतनामूलक अभियान सुरु गरिएको छ।

बरगाछीदेखि कञ्चनवारीसम्मको व्यस्त सडकखण्डमा रहेका डिभाइडरहरूमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्य स्थानीय युवाहरूको सक्रियता र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा अघि बढाइएको हो।

अपर्याप्त सडक बत्ती, तीव्र गति तथा चालकको असावधानीका कारण रातिको समयमा डिभाइडरमा ठोक्किने दुर्घटना दोहोरिँदै आएको स्थानीयहरूको भनाइ छ। यस्ता दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले युवाहरूले अभियान थालेका हुन्। रिफ्लेक्टिभ स्टिकरले सवारीसाधनको बत्ती परेपछि टाढैबाट संकेत दिने भएकाले चालकलाई समयमै सतर्क गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।

अभियानका अगुवा सन्तोष साहले सडक सुरक्षामा पूर्वतयारीको अभाव नै धेरै दुर्घटनाको मुख्य कारण हुने गरेको बताए। उनका अनुसार रिफ्लेक्टिभ स्टिकर प्रयोगले रातिको समयमा सवारी चलाउन सहज बनाउनेछ। उनले युवा साथीहरूको सहयोगमा स्टिकर खरिद गरी जिल्ला ट्राफिक प्रहरीसँगको सहकार्यमा अभियान सम्पन्न गरिएको जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष न्यौपानेले सडक सुरक्षामा जनचेतना र संरचनात्मक सुधार दुवै आवश्यक रहेको बताए। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया