मोरङ उद्योग व्यापार संघको महिला उद्यम समिति र विराटनगर महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको तीनदिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सफलतापूर्वक सम्पन्न भएको छ।
महिला उद्यमीहरूको नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण कला, वक्तृत्व क्षमता तथा कार्यक्रम सञ्चालनसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा मोरङ जिल्लाका २५ जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो। जेठ २९ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण, वक्तृत्वकला, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम सञ्चालनका विधि तथा व्यावहारिक अभ्यासलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमको उद्घाटन समारोह महिला उद्यम समितिकी सह–संयोजक साधना झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष सारडाले महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालनसँगै यस्ता सीपमूलक तालिमले महिला उद्यमीहरूको आत्मविश्वास वृद्धि गर्दै व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे। तालिममा सञ्चारकर्मी तथा प्रशिक्षक भागीरथकुमार पोखरेलले प्रशिक्षणका क्रममा सहभागीहरूलाई सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने कला, कार्यक्रम सञ्चालनका आधारभूत तथा उन्नत सीप, शारीरिक भाषा, आवाजको प्रयोग, प्रस्तुतीकरण कला तथा श्रोतासँग प्रभावकारी संवाद स्थापित गर्ने विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
समापन समारोह मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। तालिममा सहभागी महिला उद्यमीहरूले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, कार्यक्रम सञ्चालनसम्बन्धी व्यावहारिक सीप तथा व्यवसाय प्रवद्र्धनका लागि आवश्यक प्रस्तुतीकरण कला हासिल गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता क्षमता विकासमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। मोरङ उद्योग व्यापार संघले महिला उद्यमीहरूको नेतृत्व विकास, व्यावसायिक क्षमताअभिवृद्धि तथा उद्यमशीलता प्रवद्र्धनका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।