मोरङ कारागारमा कैदीबन्दीले पाउने सरकारी भत्ता तथा श्रमबाट आर्जित पारिश्रमिक अनियमित रूपमा असुली गरेको आरोपमा पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई उपस्थित गराउन उच्च अदालत विराटनगरले आदेश दिएको छ ।
आदेश अनुसार ‘गुन्डा नाइके’ गिरीलाई आगामी बुधबार बिहान ११ बजे उच्च अदालत विराटनगरमा उपस्थित गराउनुपर्ने हुन्छ । न्यायाधीश पूर्णप्रसाद राजवंशीको एकल इजलासले सोमबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको हो । गिरीका तर्फबाट सोमबार उच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो ।
उच्च अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार रिटमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले पक्राउको आधार र कानुनी प्रक्रियाका बारेमा स्पष्ट पार्न सम्बन्धित निकायका नाममा कारण देखाउन आदेश जारी गरेको छ । रिट निवेदनको सुनुवाइका क्रममा गिरीका पक्षबाट वरिष्ठ अधिवक्ताहरू डिल्लीबहादुर कार्की, हेमराज पन्त र भरतबहादुर थापा, अधिवक्ताहरू कल्याण केसी, विकास थापा र अभिषेक घिमिरे बहस गरेका थिए ।
मोरङ प्रहरीले गत शनिबार बिहान विराटनगर महानगरपालिका–८ मधुमारास्थित आफ्नै निवासबाट गिरीलाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अनुसन्धानलाई थप विस्तार गर्दै प्रहरीले आइतबार थप व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा तरकारी आपूर्तिकर्ता विजय कामत तथा गिरीका सहयोगी दीपक कार्की रहेका छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला कारागार मोरङका कार्यालय सहयोगी शिवचरण सिंहसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।
गिरीमाथि कारागारभित्र रहेका कैदीबन्दीले राज्यबाट पाउने दैनिक सिधा भत्ता, लत्ताकपडाका लागि उपलब्ध गराइने रकम तथा श्रमबाट प्राप्त हुने आम्दानी असुली गर्ने गरेको आरोप लागेको छ । मोरङ कारागारमा १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ जना कैदीबन्दी रहेका छन् ।