.

अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट खारेज, पाँच दिनभित्र अनुसन्धान टुंग्याउन उच्च अदालतको आदेश

उच्च अदालत विराटनगरले आपराधिक लाभसम्बन्धी मुद्दामा पक्राउ परेका अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान पूरा गर्न मोरङ प्रहरीलाई निर्देशन दिएको छ।

न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले गिरीको पक्राउ गैरकानुनी रहेको दाबी अस्वीकार गर्दै रिट खारेज गरेको हो। अदालतले अनुसन्धान अनावश्यक रूपमा लम्ब्याउन नहुने भन्दै तोकिएको अवधिभित्र अभियोगपत्र दर्ता गर्न आदेश दिएको छ।

उच्च अदालतका सूचना अधिकारी सन्तोष पोखरेलका अनुसार आज  बिहीबारदेखि लागू हुने गरी पाँच दिनभित्र अनुसन्धान सम्पन्न गर्नुपर्नेछ। निर्धारित अवधिमा अनुसन्धान पूरा हुन नसके गिरीलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने आदेशमा उल्लेख छ।

मोरङ प्रहरीले गिरीविरुद्ध कारागारभित्र रहेका कैदीबन्दीको रासन भत्ता तथा श्रम पारिश्रमिकमा आर्थिक असुली गरेको आरोपमा आपराधिक लाभसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत मोरङबाट प्राप्त पछिल्लो पाँच दिनको म्याद बिहीबार सकिने भएकाले उच्च अदालतको आदेशपछि प्रहरीमाथि सोही अवधिभित्र अनुसन्धान टुंग्याउने कानुनी दायित्व आएको छ।

कारागारभित्र रहेका कैदीबन्दीको रासन भत्ता र श्रम पारिश्रमिकमा आर्थिक शोषण भएको उजुरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया