.

कोशी प्रदेशमा आगामी तीन दिन भारीदेखि अतिभारी वर्षा हुने चेतावनीः डुबानको पीरमा विराटनगर

कोशी प्रदेशमा आगामी तीन दिन भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेसँगै विराटनगरका हरेक वर्ष डुबानमा पर्ने बस्तीका बासिन्दामा त्रास बढेको छ । विशेष गरी केसलिया र सिंघिया खोलाको किनार तथा विराटनगर–१, २, ८, ५, ६, ११, १२, १६, १७ र १८ नम्बर वडाका डुबान प्रभावित क्षेत्रका स्थानीयले फेरि बर्खाको सास्ती दोहोरिने चिन्ता व्यक्त गरेका छन् ।

विराटनगर–१२ का स्थानीय राजेश सहनीका अनुसार दक्षिण–पश्चिम क्षेत्रका बस्ती हरेक वर्ष डुबानमा परे पनि दीर्घकालीन रूपमा पानी निकास गर्ने प्रभावकारी व्यवस्था हुन सकेको छैन । डुबानपछि पानी बाहिर निकाल्ने उपाय नहुँदा स्थानीयले कतिपय दिनसम्म सास्ती भोग्नुपर्ने अवस्था दोहोरिने गरेको उहाँको भनाइ छ ।

सिंघिया र केसलिया खोलामा पानीको बहाव बढेपछि खोला किनारका सुकुम्बासी बस्ती सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । ती बस्ती स्थानान्तरण वा दीर्घकालीन व्यवस्थापनतर्फ पर्याप्त पहल नहुँदा प्रत्येक वर्ष वर्षायाममा मानवीय संकट दोहोरिने गरेको स्थानीयको गुनासो छ ।

विराटनगर बजारको महेन्द्र चोक र ट्राफिक चोक आसपास पनि वर्षा हुँदा केही समय डुबान हुने गरेको व्यवसायी माधव अधिकारीले बताए । उनका अनुसार वर्षा रोकिएको केही घण्टापछि पानी घट्ने गरे पनि व्यवसाय सञ्चालनमा नियमित असर पर्ने गरेको छ ।

विराटनगर महानगरपालिका सरसफाइ महाशाखाका प्रमुख पुनम दाहालले भने महानगरले सम्भावित डुबानलाई लक्षित गर्दै पूर्वतयारी गरिरहेको बताउए । उनका अनुसार विराटनगरका करिब ७० प्रतिशत नाला सामान्य वर्षाको पानी निकासका लागि मात्र निर्माण भएका छन् भने बाँकी ३० प्रतिशत नालाले करिब दुई घण्टासम्मको भारी वर्षालाई व्यवस्थापन गर्न सक्छन् । तर दुई घण्टाभन्दा बढी लगातार र व्यापक वर्षा भए डुबान रोक्न कठिन हुने उनको भनाइ छ ।

दाहालले विराटनगरमा स्थानीय वर्षाभन्दा पनि इटहरी, धरान तथा माथिल्लो क्षेत्रबाट सिंघिया र केसलिया खोलामा आउने पानीका कारण बढी डुबान हुने गरेको बताए । महानगरले अधिकांश नालाको अवरोध हटाइसकेको भए पनि केही स्थानमा नालामै रहेका विद्युतका खम्बा, साँघुरा नाला तथा फोहोरका कारण पानीको निकास प्रभावित हुने गरेको उनले स्वीकार गरे । पुष्पलाल चोक क्षेत्रमा यस्ता अवरोधका कारण पानी जम्ने समस्या अझै रहेको उनको भनाइ छ ।

नाला नपुगेका बस्तीमा जेसिबी प्रयोग गरेर अस्थायी निकास खोल्ने, स्थानीय खोल्सालाई सिंघिया वा केसलियासम्म जोड्ने तथा विपद्का बेला आवश्यक उपकरण र जनशक्ति परिचालन गर्ने तयारी गरिएको महानगरले जनाएको छ । महानगर र वडा तहमा विपद् व्यवस्थापनका लागि बजेट छुट्याइएको तथा आवश्यकता अनुसार उद्धारकर्मी परिचालन गर्नेसम्मको तयारीमा रहेको दाहालले जानकारी दिए । खोलाको बहाव अस्वाभाविक रूपमा बढे नेपाली सेना लगायतका निकायसँग समन्वय गरेर उद्धार तथा नियन्त्रणका काम अघि बढाइने उनको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया