बुधबार साँझ आएको हावाहुरीसहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घर तथा संरचनामा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साँझ करिब ५ बजे आएको हावाहुरीका कारण दर्जनभन्दा बढी घरमा क्षति पुगेको हो। मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
फिदिम नगरपालिका–१ शनिवारेस्थित टिकाराम भट्टराईको दुईतले घरको छानो उडाउँदा घरभित्र सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको छ। घटनाबाट करिब १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सात सदस्यीय परिवार हाल सोही स्थानमा अस्थायी रूपमा पाल टाँगेर बसिरहेको छ।
त्यस्तै, फिदिम नगरपालिका–१ किराँत चोकका मदनकुमार नेम्वाङको पक्की घरको माथिल्लो तलाको टिनको छाना र काठ उडाउँदा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उनको १२ सदस्यीय परिवार भने तल्लो तलामै सुरक्षित रहेको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण हिलिहाङ गाउँपालिका–२ कुवापानी टोलका केही घरमा पनि क्षति पुगेको छ। साथै, फिदिम नगरपालिकाका विभिन्न वडा, फालेलुङ गाउँपालिका र याङवरक गाउँपालिकाका विभिन्न स्थानमा घर तथा विद्यालयमा समेत ठूलो परिमाणमा क्षति पुगेको जनाइएको छ।
हावाहुरीपछि स्थानीय प्रशासन र प्रहरी टोली क्षतिग्रस्त क्षेत्रमा पुगेर अनुगमन तथा आवश्यक समन्वय गरिरहेको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।