.

विराट गोल्डकपको सेमिफाइनल सुरु हुँदै, पुलिस क्लब र झापा–११ भिड्दै

विराटनगरमा जारी ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलअन्तर्गतको प्रतिस्पर्धा आज (बुधबार)बाट सुरु हुँदैछ ।

पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरको सहिद रंगशालामा खेल साँझ ६ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । बुधबारको विजेता टोलीले वैशाख ५ गते उपाधि रक्षाका लागि भिड्नुपर्ने हुन्छ । पुलिस र झापा–११ दुवै पूर्वविजेता टिम हुन् ।

झापा–११ विराट गोल्डकपको २०७१ सालको विजेता टोली हो । उद्योगी राजेन्द्र राउतको संयोजकत्वमा त्यतिबेला गोल्डकप आयोजना हुँदा उपाधि हात पारेको झापाले फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । गोल्डकपको ३८ औं संस्करणको उद्घाटन खेलमा गत शनिबार आर्मीलाई २–१ गोल अन्तरले हराएर झापा सेमिफाइनल प्रवेश गरेको हो ।

२०७२ सालमा साबिक विजेता झापा–११ लाई फाइनलमा १–० ले निराश बनाउँदै उपाधि उचालेको नेपाल पुलिस क्लब यसपटक गत सोमबार मछिन्द्र फुटबल क्लबलाई सडेन डेथमा हराउँदै सेमिफाइनल पुगेको हो । मछिन्द्रमाथि कठिन जित निकालेको पुलिसको ३८ औं संस्करणमा भने सेमिफाइनलमै झापा–११ सँग भेट हुनेछ ।

यसैबीच, मंगलबार राति सम्पन्न खेलमा विदेशी पाहुना टोली भारत झारखण्डको बिर्सा मुन्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगर सेमिफाइनलमा प्रवेश गरेको छ । सम्राट र झारखण्डबीचको प्रतिस्पर्धा सकिएसँगै गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको हो ।

दोस्रो सेमिफाइनल खेल बिहीबार हुने छ । दोस्रो सेमिफाइनलमा सम्राट र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै आइतबार सेमिफाइनलमा प्रवेश गरेको टिम हो । सम्राट र चर्च ब्वाइजबीचको विजेता टोलीले उपाधिका लागि पुलिस र झापाबीचको विजेतासँग वैशाख ५ गते खेल्ने विराट गोल्डकप ट्रस्टका प्रवक्ता धनकुमार लामाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया