.

आजदेखि देशभर दोस्रो आर्थिक गणना शुरु

राष्ट्रिय तथ्यांक कार्यालयले देशव्यापी ‘दोस्रो राष्ट्रिय आर्थिक गणना’ सुरु गर्दै करिब ४ हजार गणकलाई स्थलगत रूपमा परिचालन गरेको छ ।

उद्योग, व्यापार र सेवा क्षेत्रका प्रतिष्ठानहरूको वास्तविक अवस्था पहिचान गरी देशको अर्थतन्त्रको आकार मापन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । कार्यालयका अनुसार गणना असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

यस अवधिमा देशभर रहेका उत्पादन, वितरण र सेवा प्रवाहमा संलग्न आर्थिक एकाइहरूको संख्या, रोजगारी अवस्था र भौगोलिक विस्तारसम्बन्धी विस्तृत विवरण संकलन गरिनेछ । कूटनीतिक निकाय, सुरक्षा संस्था र घरायसी प्रयोजनका गतिविधिहरू भने गणनामा समावेश गरिएका छैनन् ।


यसअघि २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाले करिब ९ लाख २३ हजार प्रतिष्ठान र ३२ लाखभन्दा बढी रोजगारी देखाएको थियो । यस पटक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै जीआईएसमार्फत गणकको गतिविधि निगरानी तथा ‘ई–सेन्सस’ प्रणालीमार्फत ठूला व्यवसायीलाई अनलाइनबाटै विवरण दिने सुविधा दिइएको छ ।

संकलित तथ्यांकलाई गोप्य राखिने र समष्टिगत रूपमा मात्र प्रकाशन गरिने कार्यालयले जनाएको छ । नीति निर्माण, लगानी प्रवर्धन र रोजगारी विश्लेषणका लागि गणना महत्वपूर्ण आधार बन्ने छ ।

यसैबीच, मोरङ जिल्लामा पनि गणनाको तयारीलाई घनिभूत पारिएको छ । जिल्लाका १७ वटै स्थानीय तहमा रहेका व्यवसायिक प्रतिष्ठानको विवरण सङ्कलन गर्न १७८ जना सुपरीवेक्षक र गणक परिचालन गरिँदैछ । जिल्ला आर्थिक गणना कार्यालय मोरङका प्रमुख सुवास अधिकारीका अनुसार स्थलगत गणनाका लागि जनशक्ति काम आजबाट खटिदैछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया