चिया उद्योगीहरूको समस्या समाधान गर्न सरकारले विशेष कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।
भारतले चिया निर्यातमा अवरोध सिर्जना गरेपछि झापा र इलामका चिया उद्योगहरू असार १ र ४ गतेदेखि बन्द भएका थिए। निर्यातसम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले उच्चस्तरीय कार्यदल गठन गर्ने आश्वासन दिएसँगै उद्योगहरू पुनः सञ्चालनमा आएका हुन्।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताका अनुसार बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्। सरकारले उद्योगीहरूको माग सम्बोधन गर्न सक्रियता देखाएपछि उद्योग खोल्ने निर्णय गरिएको उनले बताए।