कोशी प्रदेशमा लागुऔषध कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत १९ जना पक्राउ परेका छन्।
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा ब्राउन सुगर, गाँजा, प्रतिबन्धित औषधि, नगद तथा सवारी साधन बरामद गरिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अभियानका क्रममा ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ९०४ ट्रामोल क्याप्सुल र १ हजार २६६ कोलिभान क्याप्सुल बरामद गरिएको छ। साथै चारवटा मोटरसाइकल, दुईवटा अटो र १३ हजार २६० रुपैयाँ नगदसमेत फेला परेको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। कोशी प्रदेशमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।