.

यो वर्षको रेड पाण्डा म्याराथन भदौ २० गते सोलुखुम्बुमा आयोजना हुने

संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) संरक्षणमा समुदायको सहभागिता बढाउने उद्देश्यले आयोजना हुँदै आएको रेड पाण्डा म्याराथनको तेस्रो संस्करण यो वर्ष सोलुखुम्बुमा हुने भएको छ ।

रेडपाण्डा नेटवर्कका अनुसार प्रतियोगिता भदौ २० गते सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आयोजना हुनेछ ।यसअघि म्याराथनका पहिलो र दोस्रो संस्करण क्रमशः ताप्लेजुङ र इलाममा आयोजना भएका थिए । सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित सल्लेरीमा आयोजना हुने यस वर्षको म्याराथनमार्फत खेलकुदसँगै रेड पाण्डा संरक्षणको सन्देश स्थानीय समुदाय हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा हुन लागेको हो । सन् २०२४ देखि रेड पाण्डा म्याराथन आयोजना गर्न थालिएको हो ।

म्याराथन समुद्र सतहदेखि २ हजार ३६० मिटर उचाइमा रहेको थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु हुनेछ । त्यहाँबाट ४ हजार ५४ मिटर उचाइमा रहेको पिकेपिक पुगेर पुनः सोही मार्ग हुँदै फर्किने गरी ४८ किलोमिटर दूरी तय गरिनेछ । प्रतियोगितामा पुरुष र महिला दुवै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधामा समान पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रथम हुनेले ट्रफीसहित १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ, तेस्रो हुनेले ५० हजार रुपैयाँ तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । रेडपाण्डा म्याराथनले खेलकुदमार्फत स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्व र यसप्रतिको जनचेतना बढाउन सहयोग पुग्ने रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङफूरी शेर्पाले बताए ।

मुख्य म्याराथनसँगै स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्न ५ किलोमिटर दूरीको ‘रेड पाण्डा समुदाय रन’ समेत आयोजना गरिने भएको छ । समुदाय रन थेक्छेन पेमा छोलिङ गुम्बाबाट सुरु भई सेर्गाखोप, पोङ डाँडा, फाप्लु र ठूलोघर हुँदै पुनः थेक्छेन पेमा छोलिङ गुम्बामै पुगेर सम्पन्न हुनेछ ।

यसका अतिरिक्त रेड पाण्डा नेटवर्कले विभिन्न सामुदायिक वनमा परिचालन गरेका वन अभिभावकहरूलाई सहभागी गराएर ‘पानी दौड’ समेत आयोजना गर्ने तयारी गरेको छ । खेलकुदका गतिविधिमार्फत स्थानीय समुदायलाई रेड पाण्डा संरक्षणसँग जोड्ने र यसको बासस्थान तथा जैविक विविधताको संरक्षणप्रति जिम्मेवार बनाउने उद्देश्यले म्याराथनसहितका कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया