.

अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म अमेरिकाविरुद्ध लडिरहने इरान को प्रतिबद्धता

चीनका राजदूतसँग भेटवार्ता गरे लगत्तै इरानका नयाँ सुरक्षा प्रमुखले अमेरिकासँग करिब ६ महिनादेखि जारी युद्ध नरोकिने बताएका छन् । 

इरानको सन्देश स्पष्ट रहेको भन्दै मोहसेन रेजाइले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित क्षेत्रव्यापी युद्धविराममा सहमत नभएसम्म होर्मुज जलडमरू खुल्ने छैन ।’

इरानी अधिकारीहरूले अमेरिकासँगको इजरायल–इरान युद्धमा आफ्ना प्रतिद्वन्द्वीविरुद्ध निरन्तर प्रतिरोध गर्न आफूहरू इच्छुक र सक्षम रहेको बताउँदै आएका छन् ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव बनेपछि पहिलो पटक रेजाइले मंगलबार तेहरानका लागि चिनियाँ दूत कङ पेइवुको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग भेट गरे । सरकारी सञ्चारमाध्यमका अनुसार रेजाइले चीनसँग अझ नजिकको सम्बन्ध बनाउनु पर्नेमा जोड दिए । उनले संयुक्त राष्ट्रसंघमा इरानलाई लक्षित गर्दै अमेरिकाको समर्थनमा ल्याइएका प्रस्तावमा चीनले साथ नदिएको भन्दै प्रशंसा पनि गरे ।

उनले होर्मुज जलडमरूबारे ओमानसँग हुन सक्ने कुनै पनि सम्भावित सम्झौता वासिङ्टनसँगको वार्ताभन्दा अलग विषय भएको बताए । तर तेहरानले गत साता ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र उच्च तहबाट अनुमोदन हुन बाँकी रहेको बताए पनि त्यसको तत्काल कार्यान्वयन हुने संकेत देखिएको छैन । होर्मुज जलडमरू, लाल सागर र बाब अल–मन्देब जलडमरू क्षेत्रमा सैन्य गतिविधि अझै जारी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया