सङ्खुवासभामा खाना पकाउने एलपी ग्यासको खरिद गर्न उपभोक्ताले परिचयपत्र बोक्नुपर्ने भएको छ ।
जिल्लामा पछिल्लो समय देखिएको ग्यास अभाव, मूल्यमा मनपरी र वितरणमा देखिएका समस्यालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय गरेको हो ।
अब बिक्रेताले ग्राहकलाई ग्यास बिक्री गर्दा उनीहरूको नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने कागजातको प्रतिलिपि राख्नुपर्ने भएको छ । यस्तै कसलाई कति सिलिण्डर बिक्री गरियो भन्ने विवरणसमेत अद्यावधिक रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बताए ।
निमित्त प्रमुख जिल्ला अधिकारी कार्कीको अध्यक्षतामा उद्योग वाणिज्य संघ तथा ग्यास बिक्रेतासहित बसेको बैठकले एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणलाई व्यवस्थित गर्ने विषयमा विभिन्न निर्णय गरेको छ । बैठकले अनुमति प्राप्त अधिकृत बिक्रेताले मात्रै खाना पकाउने एलपी ग्यास बिक्री गर्न पाउने निर्णय गरेको छ ।
अनधिकृत रूपमा ग्यास बिक्री गर्ने प्रवृत्ति नियन्त्रण गर्नुका साथै आपूर्ति प्रणालीमा देखिनसक्ने अनियमितता रोक्न यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ । सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्न नपाउने भएका छन् ।
ग्यासको बिक्री वितरणमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्न नदिन बिक्रेतालाई निर्देशन दिइएको छ । सीमित मौज्दात रहेको अवस्थामा समेत सर्वसाधारण उपभोक्तालाई प्राथमिकता दिएर ग्यास वितरण गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
प्रशासनले आपूर्ति र वितरण प्रणालीमा देखिने समस्या तथा अनियमितता नियन्त्रण गरी उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन निर्णय गरिएको जनाएको छ ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा केही दिनयता एलपी ग्यासको अभाव देखिँदै आएको छ । ग्यास लिन डिलरमा पुग्ने उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने, तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने र कतिपय अवस्थामा रित्तो सिलिण्डर लिएर घर फर्किनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।
खाँदबारी बजारमा एलपी ग्यासका सातवटा डिलर छन् । तर, पछिल्लो समय ती डिलरमा नियमित रूपमा ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ता समस्यामा परेका छन् । सरकारले बजारमा ग्यासको आपूर्ति सहज रहेको बताउँदै आए पनि खाँदबारीको अवस्था भने फरक रहेको उपभोक्ताको भनाइ छ ।
सरकारले निर्धारण गरेको मूल्यअनुसार एलपी ग्यासको प्रतिसिलिण्डर मूल्य २ हजार १५० रुपैयाँ हो । तर, ग्यास पाउनकै लागि उपभोक्ताले २ हजार ३ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । कतिपय अवस्थामा उक्त रकम तिर्न तयार हुँदा पनि ग्यास पाउन कठिन भएको उपभोक्ताको भनाइ छ ।
ग्यास अभावको असर घरायसी उपभोगमा मात्रै सीमित छैन । होटल, चिया पसल तथा नियमित रूपमा ग्यास प्रयोग गर्ने व्यवसायसमेत प्रभावित हुन थालेका छन् । लामो समयदेखि आपूर्ति सहज हुन नसक्दा उपभोक्तामा थप असन्तुष्टि बढेको छ ।
ग्यास अभावसँगै मूल्यमा मनपरी भएको गुनासो बढेपछि प्रहरीले एक व्यापारीविरुद्ध कालोबजारीसम्बन्धी मुद्दा चलाएको जनाएको छ । तोकिएको मूल्यभन्दा बढी रकममा ग्यास बिक्री गरेको आरोपमा व्यापारीमाथि कारबाही गरिएको हो ।
प्रशासनले भने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणसँगै नियमित आपूर्ति कायम गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । अधिकृत बिक्रेताबाट मात्रै बिक्री गर्ने, बिक्रीको अभिलेख राख्ने र उपभोक्तालाई प्राथमिकता दिने व्यवस्थाले ग्यास वितरणमा देखिएको समस्या कम हुने अपेक्षा गरिएको छ ।