भारतको सर्वोच्च अदालतले दिल्लीको सडकबाट १०औं हजार कुकुर हटाउन आदेश दिएको छ । कुकुरको टोकाइमा वृद्धिबारे सुनुवाइ गर्दै सर्वोच्च अदालतले कुकुर समातेर व्यवस्थापन गर्न आदेश दिएको हो ।
अदालतले शहरका सरकारी अधिकारीहरूका नाममा आदेश जारी गर्दै ८ हप्ताभित्र कुकुर आश्रय स्थापना गर्न र समातिएका कुकुरहरूको दैनिक रेकर्ड राख्न भनेको छ । आदेशमा अदालतले सडकमा एउटा पनि बेबारिसे कुकुर नछाड्न भनेको समाचार संस्था एएफपीले जनाएको छ ।
अदालतले कुकुरहरूलाई हटाउन बाधा पु¥याउने पशु अधिकारकर्मीविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ । साथै अदालतले कुकुरको टोकाइ रिपोर्ट गर्न २४ घण्टे हेल्पलाइन स्थापना गर्न र अधिकारीहरूले रेबिज विरोधी खोपहरू उपलब्ध भएका ठाउँहरूको सार्वजनिकीकरण गर्नुपर्ने पनि आदेश दिएको छ ।
उपलब्ध सबैभन्दा पछिल्लो तथ्याङ्क अर्थात् सन् २०१२ को भारतको पशुधन जनगणना अनुसार दिल्लीको सडकमा कम्तीमा ६० हजार बेवारिसे कुकुर बस्छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वव्यापी रेबिजबाट हुने मृत्युको एक तिहाइभन्दा बढी भारतमा हुने गरेको छ । भारतीय संसद्मा पेश भएको तथ्याङ्क अनुसार सन् २०२४ मा दिल्लीमा कुकुरको टोकाइबाट ३७ लाखभन्दा बढी घटना भएकामा ५४ जनाको रेबिजका कारण ज्यान गएको छ ।