अमेरिकाको दक्षिण–पश्चिमी राज्य एरिजोनाको म्यारिकोपा काउन्टीमा अगस्ट महिनाको गर्मी याममा ४०० भन्दा बढी मानिसको मृत्यु अत्यधिक गर्मीका कारण भएको आशंका गरिएको छ।
गर्मीको लहर लगातार १२ दिनदेखि जारी रहेको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै समचार संस्था द गार्जियनले उल्लेख गरेको छ । गर्मीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।
अगस्ट महिना एरिजोनाको इतिहासमै सबैभन्दा तातो महिना बन्ने संकेत देखिएको छ। ११ अगस्टसम्म एक दिन बाहेक हरेक दिन तापक्रम ४३ डिग्री सेल्सियस भन्दा माथि पुगेको समचारमा उल्लेख छ। यस अवधिमा कम्तीमा तीन दिनको तापक्रम रेकर्ड तोडिएको छ। जसमा अगस्ट महिनाको अहिलेसम्मकै उच्च तापक्रम ११८ डिग्री फेरेनहाइट अर्थात ४८ डिग्री सेल्सियससम्म पुगेको छ।
रातको समयमा समेत तापक्रम अस्वाभाविक रूपमा उच्च रहेको मौसमविद् आइज्याक स्मिथले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, “गर्मीको प्रभाव दिनमा मात्र होइन, रातमा पनि देखिएको छ, जसले शरीरलाई विश्राम लिन कठिन बनाएको छ।”
२०२५ मा हालसम्म म्यारिकोपा काउन्टीको मेडिकल परीक्षण कार्यालयले ३५ जनाको मृत्यु गर्मीका कारण भएको पुष्टि गरेको छ। तीमध्ये १७ जनाको मृत्यु प्रत्यक्ष रूपमा उच्च तापक्रमको कारण भएको हो भने बाँकी १८ जनाको मृत्युको कारण गर्मीमा मदिरा सेवनगदा र दिर्घरोगीहरु रहेका छन् ।
त्यसैगरी, थप ३६९ जना व्यक्तिको मृत्यु गर्मीसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ।
म्यारिकोपा काउन्टीमा गर्मीजन्य मृत्युको संख्या अझै पुष्टि हुन बाँकी भए पनि प्रारम्भिक तथ्यांकले गम्भीर संकटको संकेत दिएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई सावधानी अपनाउन, पानी प्रशस्त पिउन र अत्यधिक गर्मीमा बाहिर ननिस्कन आग्रह गरेको छ।
एक दशकमा म्यारिकोपा काउन्टीमा गर्मीसँग सम्बन्धित मृत्युको संख्या तीव्र रूपमा बढेको छ । सन् २०१४ मा ६१ जना मृत्यु भएका थियो भने २०२३ मा यो संख्या ६४५ थियो।
जलवायु परिवर्तनका कारण लगातार रेकर्ड तोड्ने गर्मीका लहरहरू, अनियन्त्रित सहरी विस्तार र सुलभ आवासको अभावले गर्दा काउन्टी धेरै मानिसहरूका लागि बस्न अयोग्य बन्दै गएको समचारमा उल्लेख छ ।