इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित एक जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ जना कैदीको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बिहानको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको थियो ।
जेल प्रशासन (एस एन ए आई) ले एक विज्ञप्ति जारी गर्दै मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी सङ्घर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर तुरुन्त मृत्यु भएका’ हुन् भनी जनाएको छ। घटनाको कारण र विस्तृत विवरण स्पष्ट गर्न फरेन्सिक टोली अहिले पनि घटनास्थलमै कार्यरत छ ।
त्यसपछि विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी स्थिति नियन्त्रणमा लिएको बताइएको छ । अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागुऔषध तस्करी गिरोहबिचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ ।
इक्वेडरका जेलहरू लागुऔषध तस्करी गिरोहहरूको प्रमुख सञ्चालन केन्द्र बन्दै आएका छन्, जसले अवैध व्यापार नियन्त्रणका लागि एक–अर्कासँग हिंसात्मक सङ्घर्ष गर्दै आएका छन्। सन् २०२१ यताका विभिन्न दङ्गामा ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । सरकारले यसै महिनामा अर्काे प्रान्तमा निर्माण सम्पन्न भएको नयाँ अधिकतम सुरक्षा जेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।