.

ढाकामा एकै दिन ११ ठाउँमा बम विस्फोट, तीनवटा गाडीमा आगजनी

बंगलादेशको राजधानी ढाकामा शृंखलाबद्ध बम विस्फोट र आगजनीको घटना भएपछि उच्च सतर्कता अपनाइएको छ।

ढाकाका सार्वजनिक यातायात, धार्मिक स्थल तथा सरकारी कार्यालयहरू लक्षित विस्फोट र आगजनी भएको बंगलादेशी अनलाइन द डेली स्टारले जनाएको छ।शृंखलाबद्ध आक्रमण सहर आतंकित बनेको छ।डेली स्टारले ढाका प्रहरीलाई उद्धृत गर्दै मंगलबार ११ ठाउँमा विस्फोटका घटना भएको उल्लेख गरेको छ। ती विस्फोटमा घरेलु तरिकाले बनाइएको ’क्रुड बम’ प्रयोग भएको पनि प्रहरीले जनाएको छ। दिनभर तीनवटा बसमा आगजनी भएको पनि बताइएको छ। 

एनसीपीका संयुक्त सदस्य सचिव मुश्फिक उस सालेहिनका अनुसार घटनास्थलबाट एउटा नफुटेको बम बरामद गरिएको र पाँच जना संदिग्धलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाइएको छ। घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ।

नोभेम्बर १३ मा पूर्व प्रधानमन्त्री शेख हासीना विरुद्धको मुद्दाको फैसला मिति तय छ। त्यसअघि सुरक्षा अझ कडा पारिएको बताइएको छ। 

प्रहरी मुख्यालयले सबै थानाहरूलाई गस्ती र निगरानी बढाउन निर्देशन दिएको छ। प्रमुख सल्लाहकारको प्रेस विङ्गले जारी विज्ञप्तिमा अपराधी पत्ता लगाउन ढाका महानगर प्रहरी र र्यापिड एक्सन बटालियनले सहरव्यापी खोज अभियान सुरु गरेको जनाएको छ। प्रेस विङ्गले धार्मिक सद्भाव बिगार्ने कुनै प्रयास कानुनी कठोर कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएको छ।

प्रहरीको डिटेक्टिभ ब्रान्चका प्रमुख साफीकुल इस्लामका अनुसार, यस घटनामा संलग्नको खोजी तीव्र पारिएको छ र ३४ जना अवामी लिग कार्यकर्ता योजनाबद्ध दंगा र आर्थिक सहयोग आरोपमा पक्राउ परेका छन्। एक जना छात्र लिग सदस्य पनि बम विस्फोट घटनामा संलग्न आरोपमा पक्राउ परेका छन्। घटनापछि ढाकामात्र होइन, देशभरका महत्वपूर्ण संरचनामा पनि सुरक्षा कडा पारिएको छ ।

रेलवे, धार्मिक स्थल, विद्यालय र अस्पतालहरूमा विशेष निगरानी सुरु गरिएको छ । रेलवे विभागले पट्री, स्टेशन र इन्धन भण्डारण केन्द्रहरूमा रात्री गस्ती, सिसिटिभीबाट निगरानी र परिचयपत्र जाँच अनिवार्य गरेको छ। त्यस्तै, ढाका मेट्रो रेल सञ्चालन गर्ने डिएमटिसिएलले सम्भावित अस्थिरता पूर्वानुमान गर्दै सबै कर्मचारीको बिदा रद्द गरेको छ।

बंगलादेश प्रहरी प्रवक्ता ए एच एम साहदल हुसैनले देश अस्थिर पार्ने हरेक प्रयासलाई दृढतापूर्वक रोक्ने बताएका छन्।

गृह मन्त्रालयका वरिष्ठ अधिकारीले राष्ट्रिय एकता र सार्वजनिक सुरक्षा सुनिश्चित गर्नु मुख्य प्राथमिकता रहेको बताएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया