अफगानिस्तानको तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएर करिब १० बालबालिका र महिलाको मृत्यु भएको दावी गरेका छन्।
तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा जारी गरेको एक विज्ञप्तिमा हिजो र आज राति (बिहान १२ बजे) को बीचमा खोस्ट प्रान्तको गार्बुजजिल्लामा विस्फोट भएको दाबी गरेका छन्।
बीबीसी उर्दूका अनुसार मुजाहिदले विष्फोटमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको दाबी गरेका छन्।
उनले मारिएका बालबालिकाको तस्बिर पनि सार्वनजिक गरेका छन्।
अफगान सरकारका प्रवक्ताले लगाएको आरोपको बारेमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
विगतमा पाकिस्तानले अफगानिस्तानभित्र धेरै स्थानहरूलाई लक्षित गरेको काबुलको आरोपलाई अस्वीकार गरेको छ। तहरीक–ए–तालिबान पाकिस्तानको कारबाहीका कारण दुई देशबीचको अवस्था तनावपूर्ण छ।