छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । सन् १९५० को यही दिन भारतमा संविधान लागू भएसँगै देश औपचारिक रूपमा गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेको थियो । त्यसयता प्रत्येक वर्ष जनवरी २६ का दिन भारतले राष्ट्रिय गौरवका साथ गणतन्त्र दिवस मनाउँदै आएको छ ।
यस वर्षको गणतन्त्र दिवस समारोह नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुँदैछ । समारोहमा भारतको राजनीतिक यात्रा, सामाजिक–सांस्कृतिक विविधता, आर्थिक विकास र सैन्य क्षमताको प्रदर्शन गरिनेछ । परम्पराअनुसार आयोजना हुने भव्य परेडमा थलसेना, नौसेना र वायुसेनाका दस्ताहरू सहभागी हुनेछन् ।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले परम्पराअनुसार समारोहको औपचारिक अगुवाइ गर्नेछिन् । परेड सुरू हुनु अघि झण्डै सयजना सांस्कृतिक कलाकारहरूले ‘विविधतामा एकता’ विषयमा आधारित सांस्कृतिक प्रस्तुति दिने बीबीसी हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ ।
यस प्रस्तुतीमार्फत भारतका विभिन्न भाषा, संस्कृति र परम्पराको झलक देखाइनेछ । यसै अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत देशवासीलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन् ।
उनले भारतको राष्ट्रिय पर्वले नागरिकको जीवनमा नयाँ ऊर्जा र उत्साह थपोस् भन्ने कामना व्यक्त गर्दै विकसित भारत निर्माणको संकल्प अझ सुदृढ हुँदै गएको उल्लेख गरेका छन् । गणतन्त्र दिवस भारतका लागि राष्ट्रिय पर्व मात्र नभई संविधान, लोकतन्त्र र जनअधिकारप्रति प्रतिबद्धताको प्रतीक मानिन्छ । ७७ औं गणतन्त्र दिवससँगै भारत आफ्नो संवैधानिक यात्राको अर्को वर्षमा प्रवेश गरेको छ ।