भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ । बुधबार बिहान ८ः४५ बजे बारामतीमा भएको विमान दुर्घटनामा ६६ वर्षीय उनको ज्यान गएको हो।
बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको थियो। पवार मुम्बईबाट चार्टर्ड विमानमार्फत बारामती जाँदै थिए। अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। विमानमा सवार अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित सबैको मृत्यु भएको हो। यसअघि ६ जनाको मृत्यु भएको समाचार आए पनि डीजीसीएले ५ जनाको मृत्यु भएको स्पष्ट पारेको छ।