लेबनानमा रातभर भएका आक्रमणहरूमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ नागरिक घाइते भएका छन्।
नेशनल न्युज एजेन्सीका अनुसार दक्षिणी बेरुतको जनह क्षेत्रमा भएको इजरायली आक्रमणमा १५ वर्षीय किशोरसहित ५ जनाको मृत्यु भएको छ भने सहरको उत्तर–पूर्वी क्षेत्रमा पर्ने ऐन सादे मा भएको आक्रमणमा ३ जनाको मृत्यु भएको छ। समाचार एजेन्सीले बेरुतको दक्षिणमा पर्ने तुल नजिकै भएको हवाई आक्रमणमा एक दम्पतीको मृत्यु भएको र उनीहरूका ९ र १५ वर्षका दुई छोराछोरी घाइते भएको जनाएको छ।
इजरायली सेनाले सोमबार एक विज्ञप्ति जारी गर्दै लेबनानका नागरिक पूर्वाधार र संरचनाहरू भित्र लुकाएर राखिएका हतियार भण्डारण केन्द्र र लन्चरहरूमा आक्रमण गरिएको बताएको छ।
इजरायलले मार्चको सुरुदेखि नै दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाउँदै आएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण र स्थलगत अतिक्रमणका कारण मृत्यु हुनेको संख्या १,४६१ पुगेको छ।
हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार जारी राखेको छ। उसले आइतबार दुई दर्जनभन्दा बढी र सोमबार चारवटा आक्रमण गरेको जनाएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबारसम्म लेबनानका ८० भन्दा बढी सहर र गाउँहरू खाली भइसकेका छन् भने देशको १५ प्रतिशतभन्दा बढी जनसंख्या विस्थापित भएको छ। आइतबार, सत्ताधारी लिकुड पार्टीका सदस्यहरूसहित इजरायलका १८ जना दक्षिणपन्थी सांसदहरूले लेबनानी सीमा क्षेत्रका गाउँहरू ध्वस्त पार्ने र त्यहाँका बासिन्दाहरूलाई निष्कासन गर्ने योजनालाई विस्तार गर्न इजरायली सेनासँग माग गरेका छन्।