अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्भावित शान्ति वार्ता अघि बढाउने उद्देश्यसहित अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गर्नुभएको छ । ट्रम्पका अनुसार अमेरिकी अधिकारीहरू पाकिस्तान पुगेर इरानी पक्षसँग दोस्रो चरणको प्रत्यक्ष वार्ता गर्ने तयारी छ । तर इरानले भने अमेरिकी नौसैनिक नाकाबन्दी कायम रहेसम्म वार्तामा सहभागी नहुने अडान लिएको छ ।
यसअघि भएको वार्ता उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा भए पनि कुनै सम्झौता नभइ टुंगिएको थियो । ट्रम्पले इरानमाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै यदि प्रस्ताव स्वीकार नगरेमा इरानका ऊर्जा पूर्वाधार र पुलहरूलाई लक्षित गर्ने चेतावनी दिनुभएको छ । आफूले “निष्पक्ष र उचित प्रस्ताव” उहाँको दावी छ ।
तर इरानको तस्नीम समाचार संस्थाका अनुसार अमेरिकी नाकाबन्दी हटाइएन भने वार्ताका लागि टोली पठाउने कुनै निर्णय भएको छैन । इरानको विदेश मन्त्रालयले अमेरिकी कदमलाई “अवैध र आपराधिक” भन्दै यसलाई युद्ध अपराधसम्मको संज्ञा दिएको छ ।
अमेरिकाले नाकाबन्दीको क्रममा २३ वटा जहाजलाई फर्काएको दाबी गरेको छ । यसैबीच पाकिस्तान र इरानका विदेशमन्त्रीबीच फोनवार्ता भएको र तनाव समाधानका लागि संवाद आवश्यक रहेकोमा सहमति भएको अलजजिराले जनाएको छ ।