.

नेपालको एकमात्र रेल सेवा वर्षेनी घाटामा सञ्चालन

 नेपालको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेड आर्थिक सङ्कटमा परेको छ । पछिल्ला वर्षहरूमा आम्दानीभन्दा खर्च झण्डै तीन गुणा बढी भएपछि कम्पनी निरन्तर घाटामा गइरहेको हो ।


कम्पनीको व्यावसायिक कार्ययोजना २०८२ अनुसार आर्थिक वर्ष २०७६र७७ देखि २०८०र८१ सम्म १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख रुपैयाँ खर्च भएको छ । गएको आर्थिक वर्ष २०८०र८१ मा मात्रै ८ करोड ५० लाख रुपैयाँ आम्दानी हुँदा २६ करोड २७ लाख रुपैयाँ खर्च भएको तथ्याङ्कले देखाउँछ ।


अहिले मासिक आम्दानी झण्डै ७५ लाख रुपैयाँ भएपनि खर्च १ करोड २९ लाख रुपैयाँ पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिएर सेवा सञ्चालन गर्नुपरेको छ । पूर्वमहाप्रबन्धक निरञ्जन झाका अनुसार २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कम्पनीको कुल ऋण ७९ करोड नाघिसकेको छ, जसले थप आर्थिक दबाब सिर्जना गरेको छ ।


लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहनु, स्वदेशी प्राविधिक जनशक्तिको अभाव, वर्कसप तथा फ्युलिङ स्टेसन नहुनु र इन्धन भारतबाट ल्याउनुपर्ने अवस्थाले सञ्चालन खर्च बढाएको कम्पनीले जनाएको छ । अहिले १७ जना भारतीय प्राविधिक कर्मचारीका लागि कम्पनीले कोंकन रेलवे कॉरपोरेशन लिमिटेडलाई मासिक करिब १ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्दै आएको छ भने १ सय ३ नेपाली कर्मचारीको तलब १७ लाख रुपैयाँ मात्रै रहेको छ ।


भारतको जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको रेल सेवा दैनिक तीन पटक चल्दै आएको छ । यो ५२ किलोमिटर क्षेत्रमा विस्तार भइसकेको छ । यद्यपि यात्रु सेवाबाट मात्रै नाफा सम्भव नभएको स्थानीय र जानकारहरू बताउँछन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया