झापाको दमक नगरपालिका–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतमाथि सोमबार बिहान सामूहिक कुटपिट भएको छ ।
प्रहरीका अनुसार ‘काम छ’ भन्दै बोलाएर बिहान १०ः३० बजेतिर कुटपिट गरिएको हो । उनलाई दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जना व्यक्तिहरुले दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा बोलाएका थिए ।
बस्नेत त्यहाँ पुगेपछि उनीहरुले एक्कासि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्नुका साथै कुटपिट गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनापछि प्रहरीले कुटपिटमा संलग्नमध्ये दुरेन राई र शिव साहलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट पक्राउ गरेको छ ।
घटनामा संलग्न अन्य फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका बस्नेतको कान, मुख र गर्धनमा चोट लागेको । हाल उनको उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।