भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ । सुरक्षागार्डका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झण्डै एक सय घण्टाभन्दा बढी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ ।
ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रिटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख छ । भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरु गरिएको थियो ।
उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्कसमेत गरेका थिए । उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका थिए र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए ।
उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र सलाइन उपलब्ध गराइएको थियो । भूकम्पमा अहिलेसम्म झण्डै २६ सयको ज्यान गइसकेको पुष्टी भएको छ । दशौँ हजार मानिस अझै बेपत्ता रहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् । उद्धार तथा खोजीको काम भैरहेको छ ।