राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि शनिबार सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
बालेन नेतृत्वको सरकारले २०४८ पछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट स्ववियु खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौंका पहुँचवाला कर्मचारी विस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल र सरकारी र सार्वजनिक जग्गा फिर्ताको प्रयासलाई सरकारले आफ्नो उपलव्धिका रुपमा समेटेको बताइएको छ ।
मन्त्रालयको संख्या कटौती र अनावश्यक दरबन्दी हटाउने प्रयास, सेवाप्रवाहमा सुधारका कदम र प्रक्रियागत झन्झट घटाउने थालनी, कानुन सुधार प्राथमिकतामा र सयभन्दा बढी कानुन संशोधन गृहकार्य, भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन, सेवाप्रवाह र निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणालीको थालनीलगायतलाई समेटेर सरकारले गरेका कामको सुची तयार पार्ने काम भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यको भनाइ छ ।