दोहोरो नागरिकता बनाई त्यसकै आधारमा दुईवटा राहदानी (पासपोर्ट) लिएको आरोपमा धनकुटाका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले महालक्ष्मी नगरपालिका–४ (साविक मूर्तिढुंगा गाविस–८) का ४३ वर्षीय दोर्णराज काफ्लेलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो । प्रशासन कार्यालयका अनुसार काफ्लेले वास्तविक जन्ममिति लुकाएर झुटा विवरण पेस गरी दोहोरो नागरिकता बनाएको तथा ती दुवै नागरिकताका आधारमा राहदानीसमेत लिएको भन्ने उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
प्रशासनको बिहीबारको पत्रमार्फत उनलाई प्रहरीको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाले घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम थप प्रक्रिया अघि बढाइने प्रहरीले उल्लेख गरेको छ ।