.

बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने

कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लु रोगका कारण आर्थिक नोक्सानी बेहोरेका किसानहरूलाई राहत दिन ५० करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले बजेट रकमान्तर गरेर उक्त रकम पशु सेवा विभागलाई उपलब्ध गराएको हो ।

बर्डफ्लु पुष्टि भएका देशका विभिन्न ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा र दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम प्रयोग गरिने छ । विभागले यसअघि नै पीडित किसानलाई राहत दिन मन्त्रालयसँग बजेट माग गरेको थियो ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट किसानहरूलाई उनीहरूको कुल क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ । ‘बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) आदेश २०७४’ को व्यवस्थाअनुसार मूल्यांकन गरी सो रकम वितरण गरिने विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । यी जिल्लाहरूमा सङ्क्रमण नियन्त्रणका क्रममा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट किसानहरूको करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गत चैत महिनादेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको यो सङ्क्रमण हाल ११ जिल्लामा विस्तार भएको छ । भाइरसको स्वरूप परिवर्तन भई थप जोखिम निम्तिन सक्ने भएकाले सम्भावित क्षेत्रमा पन्छी र पन्छीजन्य सामग्री नष्ट गर्ने कार्यलाई तीव्रता दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए । रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रणको कार्य जारी राखिएको मन्त्रालयले जनाएको छ । सरकारको यो कदमले ठुलो आर्थिक क्षति बेहोरेका कुखुरा पालक किसानहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया