अमेरिकी सेनाले इरानभित्र शक्तिशाली आक्रमण गरेपछि तेहरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको छ।
होर्मुज जलमार्गमा कतारी र साउदी अरेबियाली ट्यांकरसहित तीन जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध यो कदम चालेको हो। यससँगै अमेरिकाले अन्तरिम शान्ति सम्झौताअन्तर्गत इरानलाई तेल बेच्न दिएको छुट पनि खारेज गरेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानभित्रका ८० भन्दा बढी स्थानमा प्रहार गरेको बताएको छ। इरानी सञ्चारमाध्यमका अनुसार बन्दरगाह सहर सिरिक, बन्दर अब्बास र केश्म टापुमा रातभर विस्फोट भएका छन्। यस आक्रमणमा माछा मार्ने घाट र दूरसञ्चार टावरसहितका संरचनामा क्षति पुगेको छ भने सिरिकमा धेरै मानिसलाई अस्पताल लगिएको छ। अप्रिलमा युद्धविराम भएयता इरानी सैन्य क्षेत्रमा अमेरिकाले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो।
अमेरिकी आक्रमणको जवाफ दिँदै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका ८५ वटा अमेरिकी सैन्य प्रतिष्ठान ध्वस्त पारेको दाबी गरेको छ। यसमा बहराइनको सलमान बन्दरगाहमा रहेको अमेरिकी पाँचौँ फ्लीट मुख्यालय र कुवेतको अली अल सलेम एयरबेस समावेश छन्। आईआरजीसीले दक्षिणी इरानमा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी पनि गरेको छ।