विराटनगर महानगरपालिका–१८ भेडियारीमा गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर भागेका चालक पोखरीमा डुबेर बेपत्ता भएका छन् ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान ८ः५० बजेतिर पोखरीमा डुबेर चालक बेपत्ता भएका हुन् । फरार हुने क्रममा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ का मञ्जितकुमार यादव स्थानीय भेडियारी पोखरीमा डुबेर बेपत्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको श्रेष्ठले बताए ।
अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको असई ब्रह्मदेव यादव नेतृत्वको टोलीले दुई जना सवार रहेको बीआर ५० एएल ३६८७ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए । फरार हुने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका यादवको खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।
यादवको खोजीका लागि नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा यादवका आफन्तहरू भेला भएर विवाद गरिरहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर प्रवीण घिमिरे र सशस्त्र प्रहरी बलको बीओपी ९बोर्डर आउट पोस्ट० जहदा(भुटाहाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टर तारानाथ गौतम नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
घटनास्थलमा खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले यादवको खोजी तीव्र पारेर विवाद गरिरहेका उनका आफन्तलाई सम्झाइबुझाइ गर्ने काम गरिरहेको छ । उक्त मोटरसाइकलको पछाडि सवार रहेका भारतीय नागरिकलाई भने प्रहरीले गाँजा र मोटरसाइकलसहित पक्राउ गरेको छ ।
भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई पक्राउ गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए । उनका अनुसार मोटरसाइकलको पछाडि बसेका यादवले बोकेको झोला चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको छ । बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए ।