अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ ।
ट्रम्पले सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियालाई ‘अनुपयुक्त र शत्रुतापूर्ण’ सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ ।
अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । अगस्ट आजदेखि १० दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै १८ हजार सैनिक सहभागी छन् । अभ्यासमा ड्रोन आक्रमण, जीपीएस प्रणालीमा अवरोध तथा साइबर आक्रमणलगायत उत्तर कोरियाबाट उत्पन्न हुन सक्ने जोखिमसँग जुध्ने अभ्यास गरिने खबरमा उल्लेख छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अभ्यास पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेको भए पनि आफू यसप्रति खुशी नरहेको र उहाँले अभ्यासमा लाग्ने खर्च र उत्तर कोरियासँगको सम्बन्धलाई समेत आफ्नो निर्णयको आधार बनाउनुभएको छ ।
ट्रम्पले दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीमा सहभागी हुन अस्वीकार गरेको विषय पनि उठाउनुभएको छ । यद्यपि दक्षिण कोरियाली पक्षले ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे तत्काल प्रतिक्रिया दिएको छैन ।
उत्तर कोरियाले लामो समयदेखि अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई आफ्नो देशमाथि आक्रमणको तयारी भन्दै विरोध गर्दै आएको छ ।
पछिल्लो समय उत्तर कोरियाले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणसमेत गरेको छ । विश्लेषकहरूले ट्रम्पको पछिल्लो निर्णय उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः कूटनीतिक संवादको वातावरण बनाउन खोजिएको प्रयास हुनसक्ने बताएका छन् ।