काठमाडौं जिल्ला अदालतले जन आस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको हो। यसअघि सोही अदालतले श्रेष्ठलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।
यसैबीच, श्रेष्ठको गिरफ्तारीलाई गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबारै सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेशी तोकएिको छ। श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो।
सम्पादक श्रेष्ठविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।