.

भारतले हटायो नेपाली चियामा अनिवार्य परीक्षण, निर्यात फेरि सहज

तीन सातादेखि अवरुद्ध बनेको नेपालबाट भारततर्फ हुने चिया निर्यात पुनः सहज भएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ ले नेपाली चियामा लागू गरेको अनिवार्य नमुना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) व्यवस्था फिर्ता लिएपछि निर्यातको बाटो खुलेको हो ।टी बोर्डले मंगलबार राति संशोधित सूचना (कोरिजेन्डम–२) जारी गर्दै यसअघिको कडा व्यवस्था हटाएको जनाएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र टी बोर्डका अधिकारीबीच भएको संयुक्त बैठकपछि यस्तो निर्णय गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार भारतको आन्तरिक बजारमा खपत हुने चियामा अब टी बोर्डले अनिवार्य परीक्षण गर्ने छैन । भन्सार विभागले भने आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार आवश्यक परेमा छड्के रूपमा नमुना परीक्षण गर्न सक्नेछन् ।

भारतीय नयाँ नियमपछि नेपाली चिया निर्यात पूर्ण ठप्प, उद्योग संकटमा

यससँगै नेपालबाट भारत जाने चिया बोकेका ट्रकहरूलाई नाकामै रोकेर प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । बुधबारदेखि निर्यात प्रक्रिया पूर्ववत् रूपमा सञ्चालन हुन थालेको व्यवसायीहरूले बताएका छन् ।

व्यापार सहजीकरणका लागि टी बोर्डले परीक्षण प्रतिवेदन आउने समयसीमासमेत घटाएको छ । यसअघि परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने गरेकामा अब प्रयोगशालाले नमुना प्राप्त गरेको पाँच दिनभित्रै अनलाइनमार्फत प्रतिवेदन सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया