कोशी प्रदेशसभाको नवौं तथा बजेट अधिवेशन आज (बुधबार)बाट सुरु हुँदैछ ।
प्रदेशसभा सचिवालयका अनुसार अपरान्ह ३ बजेका लागि आह्वान गरिएको बैठकमा तीनवटा कार्यसूची रहेका छन् । सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार अधिवेशनको सुरुवात प्रदेश प्रमुखबाट आएको पत्र जानकारी गराउने र त्यसपछि राजनीतिक दलका तर्फबाट मन्तव्य हुनेछ ।
पहिलो दिनको अन्तिम कार्यसूची भने सामाजिक विकास मन्त्रलायअन्तर्गत प्रदेश खेलकुद ऐन (पहिलो संशोधन) अध्यादेश टेबुल हुने उनले बताए । वैशाख २३ गते प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट उक्त अध्यादेश स्वीकृत गरिएको थियो । अध्यादेशलाई ६० दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुँदा प्रदेशसभामा टेबुल हुने सूचना अधिकारी ढकालले जानकारी दिए ।
त्यस्तै, बिहीबार प्रदेशको नीति तथा कार्यक्रम ल्याउने सचिवालयले जनाएको छ ।
बुधबार बसेको कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो।मन्त्रीपरिषद्को निर्णय बारे जानकारी गराउँदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिन्थेपले बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष ०८३÷०८४को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको र उक्त नीति तथा कार्यक्रम बिहिबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सार्वजनिक गर्ने जानकारी दिए।