.

कोशी प्रदेशले आज करिब ३९ अर्बको बजेट ल्याउँदै, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरुको तयारी छ ।

कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले त्यही हाराहारीमा बजेट ल्याउँदैछन् ।  यसैबिच

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

यद्यपि प्रदेशसभा सचिवालयले बजेट प्रस्तुत गर्ने बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक गरिसकेको छैन । यसपटक कोशी सरकारले करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको बजेटको तुलनामा आगामी वर्षको बजेट करिब ४ अर्ब रुपैयाँले बढी हुनेछ । संघीय सरकारको बजेटको आकार वृद्धि हुनुका साथै अनुदान रकम बढेकाले प्रदेशको बजेट पनि विस्तार हुन लागेको हो ।

प्रदेश सरकारले आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । मन्त्री लिङ्थेपका अनुसार शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रलाई समेत उच्च प्राथमिकता दिइएको छ ।

संघीय सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा लगाइएको भ्याटबाट प्रभावित निम्न मध्यम वर्ग र सुकुम्बासी समुदायलाई राहत दिने गरी प्रदेश सरकारले केही विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ ।

चालू आर्थिक वर्षको प्रगति हेर्दा प्रदेश सरकारले करिब ३२ अर्ब रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्ष करिब ८० प्रतिशत बजेट खर्च भएकोमा यस वर्ष खर्च दर घटेर करिब ७० प्रतिशतको हाराहारीमा सीमित हुने सरकारी अनुमान छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया