.

देशभर अहिलेसम्म झण्डै ५५ प्रतिशत धान रोपाइँ : मल अभाव रहेको किसानको गुनासो

देशभर अहिलेसम्म झण्डै ५५ प्रतिशत धान रोपाइँ भएको छ । 

कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार अहिलेसम्म देशभर ५५ प्रतिशत रोपाइँ भएको छ । केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान छ । त्यसअनुसार झण्डै ७ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

गएको वर्ष यो अवधिमा ६० प्रतिशत रोपाइँ भइसकेको थियो । तर यस वर्ष पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ हुँदा मधेशमा ३३ प्रतिशत मात्रै रोपाइँ भएको विभागको तथ्याङ्क छ । 

यो हप्ता देशका धेरै ठाउँमा पानी परेकाले अब रोपाइँले तीव्रता पाउने अपेक्षा छ । यति बेला मुख्य फाँटमा धान रोपाइँको चटारो छ । विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन् । 

मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता छ । तर, सरकारले मलको चर्को अभाव नरहेको दाबी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ९२ हजार ५०० टन रासायनिक मल मौज्दातमा छ । 

बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया