कोशी प्रदेश सरकारले स्वदेशी उद्योगको प्रवद्र्धन र प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यका साथ नयाँ र सकारात्मक कदम चालेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ देखि प्रदेशकै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूका लागि विशेष पोशाक भत्ता र नयाँ नियम कार्यान्वयनमा ल्याएको हो।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशका अनुसार अब कर्मचारीहरूले प्रत्येक बुधबार र शुक्रबार अनिवार्य रूपमा प्रदेशमै उत्पादित ढाका, खाँडी (खादी), अल्लो तथा अन्य स्थानीय कपडाबाट निर्मित अफिस पोशाक लगाउनुपर्नेछ। सरकारको यो निर्णयसँगै सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजैदेखि स्थानीय उत्पादनबाट बनेका पोशाक लगाउन सुरु गरिसकेका छन्।
स्थानीय उत्पादनका पोशाक खरिद गर्न सहज होस् भनी सरकारले नियमित रूपमा प्रदान गरिँदै आएको पोशाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५०० रुपैयाँ थप गरी विशेष पोशाक सुविधा उपलब्ध गराएको छ।
हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब ३ हजार ९६ जना कर्मचारीहरू कार्यरत छन् (स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी)। यति ठूलो संख्यामा कर्मचारीहरूले स्थानीय उत्पादन प्रयोग गर्दा स्वदेशी उद्योगको प्रवद्र्धन भई प्रदेशको अर्थतन्त्र थप चलायमान हुने लक्ष्य राखिएको छ।