.

नक्कली भुटानी शरणार्थी प्रकरणका रायमाझी र खाणसहित १६ दोषीलाई सजाय तोकियो

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ जना दोषीलाई सजाय तोकिएको छ । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका १६ दोषीलाई जिल्ला अदालत काठमाण्डौले न्यूनतम एक वर्षदेखि अधिकतम चार वर्षसम्म सजाय निर्धारण गरेको हो । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित नौ अभियुक्तलाई जनही चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ भने अर्का पूर्वमन्त्री बालकृष्ण खाणसहित दुई जनालाई जनही दुई वर्ष कैद र २० हजार जरिवाना ठहर्याएको छ ।  बाँकी पाँच अभियुक्तका हकमा जनही एक वर्ष कैद र १० हजार जरिवाना निर्धारण गरेको छ । 

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार जरिवाना तोकेको छ । 

सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित मुद्दामा टेकनाथ रिजाललाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । यस्तै पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई चार वर्ष कैद तथा ४० हजार जरिवाना तोकिएको छ । 

यसै गरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई एक वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ । न्यायाधीश खड्काको इजलासले गएको असार २३ मा कसुर ठहरको फैसला गरेकामा हिजो सजाय सुनाएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया