स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नेपालमा सञ्चालित बालबालिकाको खोप कार्यक्रम विश्वकै प्रशंसित जनस्वास्थ्य कार्यक्रममध्ये एक भएको बताएका छन् । उनले नेपालमा ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको पहुँचमा रहेको जानकारी दिएका हुन् ।
नेपाल सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई निःशुल्क रूपमा नियमित खोप सेवा उपलब्ध गराउँदै आएको छ। हाल देशभरका बालबालिकालाई १३–१४ भन्दा बढी संक्रामक रोगविरुद्ध खोप लगाइँदै आएको छ, जसका लागि कम्तीमा आठ पटक स्वास्थ्य संस्थामा पुग्नुपर्ने व्यवस्था गरिएको छ।
ती रोगहरूमा क्षयरोग, डिप्थेरिया, टिटानस, हेपाटाइटिस बी, टाइफाइड, रोटाभाइरस लगायतका रोगहरू समावेश छन्, जसलाई खोपमार्फत रोकथाम गर्न सकिन्छ ।
डा. बुढाथोकीले नेपालको भौगोलिक कठिनाइ, दुर्गमता र सीमित स्रोतका बाबजुद पनि खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनु विश्व समुदायले समेत प्रशंसा गर्ने विषय भएको बताए।
उनले यस सफलतामा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय समुदायको सक्रिय सहभागिता मुख्य कारण रहेको उल्लेख गरे। उनले वैशाख महिनालाई प्रत्येक वर्ष ‘खोप महिना’का रूपमा सञ्चालन गरिने जानकारी पनि दिए । नयाँ वर्षसँग जोडेर ठाउ अनुसार वैशाखमा अत्यधिक जाडो वा गर्मी नहुने, बसाइँसराइ कम हुने भएकाले नागरिकहरू स्थिर रहने र अभियान सञ्चालन गर्न सहज हुने उनले बताए । उनको अनुसार अहिले देशभर ९५ प्रतिशतभन्दा बढी बालबालिका खोपको दायरामा आएको जानकारी गराए ।