.

विराटनगरमा फुटपाथ अतिक्रमण हटाउन सुरु, अटेर गरे सामान जफत गरिने

विराटनगर महानगरपालिकाले बजार क्षेत्रको सौन्दर्यकरण र आवागमनलाई सहज बनाउन फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । महानगरले शुक्रबार बिहानदेखि बजार क्षेत्रका सडकपेटीमा राखिएका अनाधिकृत सामग्री हटाउन थालेको हो ।

संघीय राजधानी काठमाडौंमा बालेन शाहले सुरु गरेको अभियानको प्रभाव अन्य स्थानीय तहमा परेसँगै विराटनगरले पनि यस कार्यलाई तीव्रता दिएको हो । महानगरले यसअघि दुई दिनसम्म नगर क्षेत्रमा माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो ।

शुक्रबार उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोली आफैं बजार क्षेत्रमा खटिएर फुटपाथ खाली गराउन निर्देशन दिएको छ । महानगरले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न, सडकपेटीमा निर्माण सामग्री नथुपार्न र मोटरसाइकल ग्यारेजका सामान राखेर बाटो अवरोध नगर्न कडाइ गरेको छ । साथै, मापदण्डविपरीत सञ्चालित कवाडी व्यवसायलाई पनि महानगरले निषेध गरेको छ ।

यसअघि पनि महानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने प्रयास गरेको थियो, तर नियमित अनुगमनको अभावमा व्यापारीहरूले पुनः सडकपेटीमै सामान राख्ने गरेका थिए । यसपटक भने महानगरले कडा चेतावनी दिँदै अब पनि अटेर गरे फुटपाथमा राखिएका व्यापारिक सामग्रीहरू सिधै जफत गरिने जनाएको छ ।

महानगरको यो कदमलाई सर्वसाधारणले स्वागत गरे पनि साना व्यवसायीहरूले भने उचित विकल्पको माग गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया