.

क्यान्सर रोगी १२ वर्षीया भूमिकाको उपचारमा सहयोगको अपिल

सुनसरीको इटहरी तरहराकी १२ वर्षीया भूमिका तिवारी यतिबेला जीवन र मृत्युबीचको कठोर लडाइँ लडिरहेकी छन् । कक्षा ६ मा अध्ययनरत, पढाइमा अब्बल र भविष्यका सपना बोकेकी बालिका अहिले दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालको शैयामा एक्युट ल्युकेमिया (बी–अल प्रकारको ब्लड क्यान्सर)विरुद्ध संघर्षरत छिन् । 

नेपालमै प्रारम्भिक परीक्षण र उपचारका लागि मात्र एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ । भारत पुगेपछि भने उपचारको दायरा अझ फराकिलो र खर्चिलो बन्दै गएको छ । चिकित्सकहरूले लामो र निरन्तर उपचार आवश्यक पर्ने बताएपछि परिवार अहिले आर्थिक संकटको चरम दबाबमा छ ।

अभिभावकका अनुसार दिल्लीमा एक महिनाको बसाइमै ठूलो रकम सकिएको छ । चिकित्सकहरूले थप परीक्षण, केमोथेरापी र अन्य उपचार प्रक्रियाका लागि अझ ठूलो रकम आवश्यक पर्ने बताएपछि उनीहरू पूर्णतः आर्थिक सहयोगको खोजीमा छन् ।

यता चिकित्सकीय दृष्टिकोणले हेर्दा ब्लड क्यान्सर जस्तो रोग समयमै पहिचान भएमा उपचार सम्भव हुने भए पनि ढिलो हुँदा जटिलता बढ्ने बताइन्छ । विराटनगरस्थित विराट क्यान्सर इन्स्टिच्युटका क्लिनिकल हेमाटोलोजिस्ट डा. विकासकुमार साहका अनुसार पछिल्लो समय क्यान्सरका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेका छन् ।

डा. साहका अनुसार क्यान्सर भन्नेबित्तिकै आत्तिनुपर्ने अवस्था होइन । तर, ढिलाइ गर्नु घातक हुन सक्छ । उनले नेपालमै क्यान्सर उपचारका सुविधा विस्तार हुँदै गएको उल्लेख गर्दै भारतसम्म जानुपर्ने बाध्यता क्रमशः घट्दै गएको पनि बताए ।

विराट क्यान्सर इन्स्टिच्युटमा हाल नयाँ तथा पुराना गरी एक सयभन्दा बढी बिरामी नियमित उपचारमा रहेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । भारतमा लामो समय बस्नुपर्ने र महँगो खर्च धान्न नसक्ने बिरामीका लागि नेपालमै उपचारलाई निरन्तरता दिन सकिने सम्भावना बढ्दै गएको चिकित्सकहरूको भनाइ छ ।

एकातर्फ भूमिका पढाइ र भविष्यका सपना देखिरहेकी छन् भने अर्काेतर्फ गम्भीर रोगले उनको जीवन अन्धकारतर्फ धकेल्ने जोखिम बढ्दै गएको छ । समाज, सहयोगी हातहरू र संस्थागत समर्थन नपाए उपचारलाई निरन्तरता दिन कठिन हुने अभिभावकको भनाइ छ ।

छोरीको मुस्कान फेरि फर्काउने आशामा बसेको तिवारी परिवार अहिले ठूलो संकटको सामना गरिरहदा क्यान्सर रोगी १२ वर्षीया भूमिकाको उपचारमा सहयोगको अपिल समेत गरिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया