.

वर्षा र पहिरोले कोशी प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कोशी प्रदेशका प्रमुख राजमार्गहरू सहित देशका विभिन्न सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ। कोशी प्रदेशका उदयपुर, भोजपुर र संखुवासभामा सडक कतै पूर्ण त कतै एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।

नेपाल प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार, उदयपुरको कटारी नगरपालिका–१४ स्थित दलदलेमा आएको बाढीका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्धभएको छ। सडक ठप्प भएपछि सो क्षेत्र भएर चल्ने सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

यस्तै, कोशी प्रदेशका अन्य पहाडी जिल्लाहरूमा पनि सडकको अवस्था असहज रहेको छ। भोजपुरको बोखिममा पहिरोका कारण मध्यपहाडी लोकमार्ग र संखुवासभाको मकालु गाउँपालिकास्थित नयाँ बस्तीमा कोशी राजमार्ग पहिरो तथा बाढीका कारण एकतर्फी मात्र सुचारु रहेका छन्। यी सडक खण्डहरूमा पहिरो पन्छाउने काम भइरहे तापनि वर्षा जारी रहेकाले थप जोखिम कायम छ।

बागमती प्रदेशको काभ्रेपलान्चोक अन्तर्गत विपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको उच्च जोखिम देखिएपछि सुरक्षाका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यता ललितपुरको बाग्मती गाउँपालिकास्थित छपेलीमा खसेको पहिरो पन्छाएर कान्ति लोकपथलाई पनि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

गण्डकी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ। पृथ्वी राजमार्ग८अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै पहिरो खसेका कारण सवारी साधनहरू एकतर्फी चलिरहेका छन्। त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड र लमजुङको बिमिरेभन्ज्याङमा मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी मात्र खुल्न सकेका छन्।

प्रहरीले वर्षादको समयमा बाढी र पहिरोको जोखिम बढिरहेकाले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। अवरुद्ध सडकहरू पूर्ण रूपमा खुलाउने प्रयास जारी रहेको पनि प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया