.

दमकमा साथीको चक्कु प्रहारबाट एक जनाको मृत्यु

झापाको दमकमा आफ्नै साथीको चक्कु प्रहारबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।

भारतको लखनउ घर भई दमक नगरपालिका–२ हिमाल माध्यमिक विद्यालय नजिक डेरा गरेर बस्ने अन्दाजी ३६ वर्षीय साहिल कान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि आफ्नै साथी मोहमद सोनु भनिने सहवाज हुसेनले बियरको बोतल र चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुवै जनाले रातभर मदिरा (बियर) सेवन गरेको र बिहानतिर झगडा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार भारतीय नागरिक रहेका दुवै जना एकअर्कामा मिल्ने साथी हुन् ।

चक्कु प्रहारबाट साहिलको घाँटीमा गहिरो चोट लागेको थियो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उद्धार गरेर उनलाई उपचारका लागि दमक अस्पताल लगेको थियो ।

उपचारकै क्रममा बिहीबार बिहान ६ः३० बजेतिर साहिलको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीको हत्यामा संलग्न सहवाज फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकले घटनाको थप अनुसन्धान गरिरहेको छ । भारतीय नागरिक उनीहरु दमकमा बसेर डेरीमा काम गर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया