मोरङको बुढीगंगा गाउँपालिकाले युवा पुस्ताको प्रतिभा पहिचान र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘बुढीगंगा नवप्रवर्तन (इनोभेसन) प्रदर्शनी तथा प्रतियोगिता–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिकाले पहिलो पटक टंकीसिनुवारीस्थित नरग्राम माध्यमिक विद्यालयमा यस किसिमको रचनात्मक कार्यक्रम आयोजना गरेको हो ।
नवप्रवर्तनात्मक प्रतिभा, सिर्जनात्मक सोच, अनुसन्धान, आविष्कार तथा स्थानीय समस्या समाधानका उपाय र प्रविधिको खोजी गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा सबै उमेर समूहका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
प्रतियोगिताका लागि कुल २८ जनाले आवेदन दिएकोमा छनोट समितिले १८ जनाको आवेदन स्वीकृत गरेको थियो । सहभागी १८ जनाले आधुनिक कृषि, व्यापार, उद्योग र प्रविधि क्षेत्रमा थोरै लगानी र समयमा कसरी धेरै प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आफ्ना आविष्कार र अवधारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा ‘दुना टपरी बनाउने मेसिन’ विकास गरेका प्रवीणकुमार खाँ प्रथम हुन सफल भए । उनले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी, आर्यन बजगाईं द्वितीय हुँदै नगद ३० हजार र विनोद घिमिरेको समूह तृतीय हुँदै नगद २० हजार रुपैयाँ प्राप्त गरे । अन्य सहभागीहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बुढीगंगा हरेक क्षेत्रमा अब्बल रहेको दाबी गरे । उनले युवाहरूको प्रतिभालाई मर्न नदिने र उनीहरूको कार्यमा गाउँपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विजेताहरूलाई गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
स्थानीय, विद्यार्थी र युवाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमले पालिकाभित्र रहेका लुकेका प्रतिभाहरूलाई उजागर गर्न र उनीहरूलाई उद्यमशीलता तर्फ प्रेरित गर्न ठुलो भूमिका खेल्ने विश्वास लिइएको छ ।