.

त्रिपुरेश्वरमा पेट्रोल छर्किएर आगो लगाएका गणेश नेपालीको निधन

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए । गणेशका दाइ मदनले अस्पतालले भाइको निधन भएको जानकारी दिएको बताए । अस्पतालले भने निधनको औपचारिक घोषणा गर्न बाँकी छ । 

प्रधानमन्त्रीको सचिवालयका सल्लाहकारसहित दुई जना अस्पतालमा मृतक परिवारसँग समन्वय गरिरहेका छन् । हालै नियुक्त न्याम्सका पदाधिकारीहरु कुलपति, रेक्टर, रजिस्ट्रार र अस्पतालका निर्देशकसँग पनि उनीहरु छलफलमा रहेको अस्पतालका एक कर्मचारीले बताए । अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।  उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले उनको शव बुझ्न अस्वीकार गरेको छ ।

गणेशका भतिज मन नेपालीले सरकारले उनका परिवार हेरचाहको जिम्मेवारी नलिँदासम्म आफूहरुले शव नबुझ्ने बताए। सरकारले जिम्मेवारी लिन नमाने आन्दोलन गर्ने चेतावनी समेत उनले दिए। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।

नेपालीको निधनपछि घटनाबारे थप अनुसन्धानका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयासको कारण र घटनाको सम्पूर्ण विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि बिहीबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया