.

कोशीका दुई मुख्य राजमार्गसहित देशका विभिन्न सडक अवरुद्ध

अविरल वर्षा र पहिरोका कारण कोशी प्रदेशका दुई मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । मेची राजमार्ग र मध्य पहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो खस्दा र बाढी आउँदा यातायात सेवा ठप्प भएको हो ।

प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार, इलाम नगरपालिका–९ राजदुवालीमा सडक अवरुद्ध हुँदा मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक खण्ड) पूर्ण रूपमा बन्द छ । यस्तै, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खामा पहिरो खसेका कारण मध्य पहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । भोजपुरको बोखिममा भने बाढीका कारण सोही लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।


कोशी प्रदेश बाहिर पनि सडकको अवस्था निकै प्रभावित छ । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, दोलखाको तामाकोशी–५ किर्नेटारमा बाढीका कारण लामोसाँघु–रामेछाप राजमार्ग बन्द भएको छ, जहाँ हाल वैकल्पिक बाटो खुलाइएको छ ।

बिपी राजमार्ग र कान्ति लोकपथमा भने सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यान दिँदै निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ । बिपी राजमार्गको खुर्कोट–नेपालथोक खण्ड र कान्ति लोकपथमा रात्रिकालीन समयमा सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ । वर्षा जारी रहेकाले सडक अवरुद्ध हुने क्रम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया